दाङ, ९ बैशाख ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जनता समाजवादी पाटीका नेता भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निणर्य गरेको बताउनुभयो ।
सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उहाँले बताउनुभयो । मन्त्री अहिरले पार्टीको निणर्यअनुसार आफूले राजीनामा दिएको बताउनुभयो ।
मुख्यमन्त्री र गठबन्धनका दलहरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्मविपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताउनुभयो ।
२५ चैतमा विनाविभागीय मन्त्री नियुक्त हुनुभएका अहिरले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।