२०८१ मङ्सिर २३ गते आइतवार

कपुरकोट गाँउपालिकामा कृषि एम्बुलेन्स सञ्चालन



सल्यान, २५ असार ।
कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोट गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको बताइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषि उपज बजार संचालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख भिम पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार कार्यालयको ढुवानी साधनमा अनुदान कार्यक्रमअन्तर्गत १४ लाख ३ हजार ७ सय ५० र समितिको सोही बराबर रकम गरी २८ लाख सात हजार पाँच सय रुपैयाँमा खरिद गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रम समेत सञ्चालन गर्दै आएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको सहज निकासीका लागि पालिकाले पनि दुई वटा सानो गाडी खरिद गरेको र ती साना गाडीलाई पनि कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने उहाँको भनाई छ ।

कृषि उपज बजार संचालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार संचालक समिति र कपुरकोट गाउँपालिकाले कार्यबिधि बनाएर यसलाई कार्यन्वयनमा ल्याउने बताउनुभयो । उत्पादित बस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकअप भ्यान खरिद गरिसकेका उहाँको भनाइ छ । बेमौसमी तरकारी उत्पादनलाई प्रख्यात मानिने कपुरकोटबाट वार्षिक २८ करोड भन्दा बढीको तरकारी निर्यात हुने गरेको छ ॥

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार