दाङ, २० मंसिर ।
लुम्बिनी प्रदेशमा पुनर्स्थापना गृह निर्माण गरिने भएको छ । लैङ्गिक हिंसा प्रभावितहरुलाई लक्षित गरी लुम्बिनीमा पुर्नस्थापना गृह निर्माण गर्न लागिएको हो ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुनर्स्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैंकका प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको र लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढाइने जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसा प्रभावितहरुको न्यायका लागि अन्य क्षेत्रहरुमा पनि पुनर्स्थापना गृहको आवश्यकता रहेको औंल्याउनुभयो । यसैबिच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ । रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँचीस्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो ।
महिला समुत्थान परियोजनाअन्तर्गत सेवा केन्द्र र पुनर्स्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना लागू भएको छ ।